धनकुटाः १४ औ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज क्यामरुनको दाउफिन्स र सशस्त्रको एपीएफ फुटबल क्लब भिड्दै छन् ।

धनकुटाको तल्लो टँुडिखेलमा दिउँसो ३ बजे यी २ टिम उपाधिको लागि मैदानमा उत्रिनेछन् । दाउफिन्सले मोरङको विन्धवासिनी फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोल गरी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै, एपीएफले बिर्ता युनाइटेड झापालाई शून्यका विरुद्ध एक गोलले पराजित गदै दाउफिन्ससँगको भेट पक्का गरेको थियो । दुवै टोली यो उपाधीका लागि पहिलो पटक भिड्न लागेका हुन् ।

शारीरिक रूपमा अग्ला र बलिया क्यामरुनी टोलीको विरुद्ध सशस्त्रलाई उपाधि उचाल्न निकै कठिन हुने आँकलन खेलप्रेमीको रहेको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ४ लाख रुपैयाँ हात पार्ने छ । उपविजेता टोलीले २ लाख रुपैयाँमा चित्त बुझाउने छ ।