विराटनगरः धनगढीमा यही जेठ ९ १० र ११ गते हुने अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगितामा भाग लिन जाने विराटनगर पोखरिया कराते डोजोका ४ जना खेलाडीलाई आज बिदाइ गरिएको छ ।

लायन्स क्लब युनिकका २०१९–२०२० का फस्र्ट भाइस प्रेसिडेन्ट युवा ब्यवसायी प्रवीण अग्रवाल र मोरङ करातेका प्रशिक्षक तथा पोखरिया कराते डोजोका प्रमुख प्रशिक्षक विनोदकुमार राउतले खेलाडीको बिदाइ गरेका थिए । खेलाडीलाई शुभकामना दिँदै अग्रवालले अनुशासनमा बसी १ नम्बर प्रदेशको प्रतिष्ठा कायम रहनेमा आफू विश्वस्त भएको बताए ।

प्रशिक्षक राउतले खेल एउटा भाइचाराको सम्बन्ध बढाउने सिँढी भएकाले अनुशासित भई खेल्न र खेलमा हुने जीतहारलाई स्वीकार्न निर्देशन दिए ।

पोखरिया कराते डोजोका खेलाडीले यस अघि पनि भारतका विभिन्न स्थान र नेपालका थुप्रै ठाउँमा आयोजित प्रतियोगितामा भाग लिएर सफलता पाएका थिए । प्रतियोगितामा भाग लिन जाने खेलाडीमा ५० केजी तौल समूहबाट अनमोल सिवाकोटी र भुवन कट्टेल छन् । त्यस्तै ४५ केजी समूहबाट एमडी अमन र ५५ केजी तौल समूहबाट सुमन राईले प्रतिष्पर्धा गर्ने भएका छन् ।

60621379_2048794315231551_1006607795786612736_o 1