सङ्खुवासभाः प्रदेश नं १ अन्तर्गत अन्तर जिल्ला महिला कबड्डी प्रतियोगिता सङ्खुवासभामा हुने भएको छ । प्रदेश १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकुद विकास समिति सङ्खुवासभाले प्रतियोगिता आयोजना गर्ने भएको हो ।
यही जेठ १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति सङ्खुवासभाले जनाएको छ ।
कबड्डी खेलको ‘चाम’ बढिरहेका बेला यो प्रतियोगिता सङ्खुवासभामा हुनुले सङ्खुवासभाका खेलाडी र प्रशिक्षकलाई फाइदा पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले बताए । जिल्लाका खेलाडीले थप सिक्ने मौका पाउने उनको धारणा छ ।
यसैबीच यही प्रतियोगितालाई मध्यनजर गर्दै कबड्डी निर्णायक तालीम शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा तालीम शुरु भएको हो । राष्ट्रिय खेलकुद परिषदबाट प्रशिक्षक आएर तालीम सञ्चालन गरेको यो नै पहिलोपटक हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेका अनुसार राष्ट्रिय खेलकुद परिषदका कबड्डी प्रशिक्षक तारासिंह भाट र पार्वती राईले निर्णायक तालीम दिइरहेका छन् । ‘आजसम्म राष्ट्रिय स्तरका प्रशिक्षक जिल्लामा आएर तालीम सञ्चालन भएको थिएन । यो पहिलो पटक हो,’ घिमिरेले भने, ‘यसले निर्णायक र खेलाडीलाई थप उर्जा मिलेको छ ।’
घिमिरेले कुनै पनि खेलको निर्णायक भएपछि खुम्चिएर बस्नुनपर्ने भन्दै कबड्डीका निर्णायकहरूले पनि खुम्चिएर बस्नुनपर्ने बताए ।
अध्यक्ष घिमिरेले जिल्लामा खेलाडी उत्पादन भए पनि प्रशिक्षक र निर्णायक उत्पादन हुन नसकेको स्मरण गर्दै कबड्डी निर्णायक तालीम सङ्खुवासभामा सञ्चालन हुनुले खेल क्षेत्रमा फड्को मारेको दाबी गरे ।
कबड्डीका राष्ट्रिय रेफ्री भाटले अन्य खेलको तुलनामा कबड्डी कम खर्चिलो हुनुले पनि सङ्खुवासभाजस्ता ग्रामीण भेगमा यो खेल सञ्चालन गर्न सकिने बताए । भाटले भने ‘सङ्खुवासभाको इतिहासमा नै पहिलोपटक जिल्लामा तालीम भएको रहेछ यसले ऐतिहासिकता कमाएको छ ।’