धरानः धरान बास्केटबल सङ्घको आयोजनामा भएको चौथो ट्यालेन्ट हन्ट बास्केटबल टे«निङ क्याम्पको शनिबार समापन भएको छ ।
बास्केटबल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी क्याम आयोजना गरेको बताइएको छ ।
क्याम्पमा धरानका ११ वटा विद्यालयबाट ४१ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जिल्ला बास्केटबल सङ्घ, सुनसरीका अध्यक्ष नारायण सुवेदीका अनुसार यो कार्यक्रमले निरन्तरता पाउने छ ।
क्याम्पमा सहभागी विद्यार्थीलाई प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा प्रदेश १ बास्केटबल टिम क्याप्टेन नवीन राई, हेमन्त राई, भोजराज लिम्बू, शिशिर पोखरेल र सृजन आचार्यले प्रशिक्षण दिएका थिए ।
सहभागी विद्यार्थीमध्येबाट उत्कृष्ट १८ जना विद्यार्थीलाई डिपो स्कुल, एम्स एकेडेमी, सगरमाथा एसडी कलेज र युरेका स्कुलको सहकार्यमा छात्रवृत्तिका लागि सिफारिस गरिने नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए । यस अघि आयोजना गरिएको तेस्रो क्याम्पबाट पनि १ दर्जन विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
समापन कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र प्रदेश १ महिला खेलाडी आस्था राई, प्रीति राई र प्रनिसा ओझालाई मायाको चिनो वितरण गरिएको थियो । सहभागी विद्यार्थीमध्येबाट उदीयमान खेलाडी घोषित कुशलता राई र युरेका राईलाई पुरस्कार स्वरूप बल र टिसर्ट प्रदान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी, विशेष अतिथि धरान १८ का अध्यक्ष प्रवीण राई, डिपो क्याम्पसका प्रमुख राजकुमार राई, अग्रज बास्केटबल खेलाडी सुजनमान श्रेष्ठ, युवा व्यवसायी सम्राट श्रेष्ठ, युवा नेता तथा समाजसेवी दीपक बनेपाली लगायतले प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।