तस्बिरः लक्ष्मण थापा
धरानः धरान फुटबल क्लबले सारेगमपा रियालिटी सोको लिटिल च्याम्सका प्रतिस्पर्धी प्रीतम आचार्यलाई जिताउन अभियान चलाउने भएको छ ।
शनिबार धरानमा पत्रकार सम्मेलन गरी धरान फुटबल क्लबले प्रीतम आचार्य जिताऔं अभियान शुरु गरेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै धरान फुटलब क्लबका अध्यक्ष किशोर राईले नेपालमै पहिलो पटक प्रीतमका लागि आफूहरूले अभियान थालेको बताए । प्रीतमलाई भोटिङ शुभारम्भका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने पनि अध्यक्ष राईले जानकारी दिए । ‘उनी देशकै छोरा हुन् । प्रीतमले भारतीय च्यानलमा प्राप्त गरेको सफलता नेपालकै सफलता हो’, अध्यक्ष राईले भने ।
पत्रकार सम्मेलनमा प्रीतमकी आमा राधिका आचार्य पनि उपस्थित भएकी थिइन् । पत्रकार सम्मेलनमा मुम्बइमा रहेका प्रीतमले भिडियो कल मार्फत् आफूलाई सहयोग गर्न थालिएको पहलप्रति धन्यवाद पनि दिएका थिए ।
उनले आफूलाई सहयोग गर्न सञ्चारकर्मीहरूलाई पनि आग्रह गरेका थिए । प्रीतमका सङ्गीत प्रशिक्षक राजु केसीले प्रीतम साङ्गीतिक क्षेत्रका लागि सम्पत्ति भएको बताए । ‘उसको प्रतिभा व्याख्या गर्न सम्भव छैन, उसकै क्षमता र लगनशीलताले ऊ त्यहाँ पुगेको हो । अब उसलाई हाम्रो पनि सहयोगको खाँचो छ’, केसीले भने ।
पत्रकार सम्मेलनमा बोल्दै वराह ग्रुपका प्रशासकीय अधिकृत गंगा कालिकोटेले पनि प्रीतमलाई आफूहरूको तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाए । धरान सङ्गीत प्रतिष्ठानका सल्लाहकार रमेश राईले पनि प्रीतमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।