इलामः आयोजकमाथि सङ्घर्षपूर्ण जीत निकाल्दै शिवसताक्षी नगरपालिका करफोकमा जारी दोस्रो सूर्योदय मेयरकपको सेमीफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४ का विरुद्ध ५ गोल अन्तरले आयोजक सूर्योदय नगरपालिका पराजित बन्यो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टिमबाट २–२ गोल भएको थियो । खेलको ३९ औँ मिनेटमा भुवन बस्नेतले शिवसताक्षीलाई शुरुवाती अग्रता दिलाएका थिए । सुशील राईको क्रसलाई उनले जाली चुमाएका थिए ।

४६ औँ मिनेटमा दिनेश राईले अग्रता दोब्बर बनाए । लक्ष्मण बेघाको क्रसमा राईले गोल गरेका हुन् । खेलमा पछि परेको सूर्योदयले १ मिनेट नबित्दै आशिष राईको गोलबाट अग्रता कम पारेको थियो । ‘वान भर्सेस वान’को अवस्था उनले जाली चुमाए ।

६१ औँ मिनेटमा सचिन योल्मोले खेल बराबरीमा ल्याए । खेलमा दुवै टिमबाट गोलका अन्य अवसरको सदुपयोग हुन सकेन । थ्री स्टारका खेलाडी सुशील राई र विजय धिमालसहित मैदानमा उत्रिएको शिवसताक्षीलाई आयोजकले दबाबमा राखेको थियो । ४८ औँ मिनेटमा ‘अफसाइड’ भनेर छाडेको बललाई सुशीलले जाली चुमाउन सकेनन् । उनको प्रहार बारमा लागेर फर्किएको थियो ।

७० मिनेटको अवधिमा शिवसताक्षीका सुशील राई र आयोजकका डेनिस गुरुङले पहेँलो कार्ड पाए । पेनाल्टी सुटआउटमा नियम उल्लङ्घन गरेपछि डेनिसले दोहोरो पहेँलो कार्ड पाएका थिए ।

पेनाल्टी सुटआउटमा शिवसताक्षीका ५ जना खेलाडीको प्रहारले जाली चुम्दा सूर्योदयका डेनिसले नियम उल्लङ्घन गरेपछि उनको प्रहारले मान्यता नपाउँदा आयोजक क्वाटरफाइनलबाटै बाहिरियो । अर्जुनधारा नगरपालिकालाई हराउँदै आयोजकले क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

त्यसैगरी सोमबार नै हुने भनिएको साबिक विजेता मेचीनगर नगरपालिका र माई नगरपालिकाबीचको दोस्रो खेल नेपाल बन्दका कारण स्थगित भएको छ । सो खेल मङ्गलबार अपराहन्न १ बजे खेलाइने आयोजक समितिले जानकारी दिएको छ ।