झापाः झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन गरी जेठ १५ गतेदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको जनाएको छ ।

नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडा नम्बर ४ का नवीन बरालले महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट प्रस्तुत गरिने बताए ।

यी खेलमा नगरभित्रका निजी तथा सामुदायिक विद्यालयबीच प्रतिष्पर्धा हुने समितिका सचिव अनन्तप्रकाश वस्तीले जनाए । यसै आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको छ । महोत्सवमा धेरै विधाका खेलमा नगरभित्रका विद्यालयबीच प्रतिष्पर्धा गराएर नगरस्तरीय टिम छनोट गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने वस्तीको भनाइ छ ।

नगर महोत्सवबाट नै सवै विधाका खेलका उत्कृष्ट खेलाडी छनोट गरी नगरस्तरीय टिम निर्माण गर्ने अध्यक्ष बरालले जानकारी दिए । महोत्सवमा १५ वटा सामुदायिक तथा ३६ वटा निजी गरी कुल ५१ वटा विद्यालयका करीब १ हजार ५ सय खेलाडीको सहभागिता हुने सदस्य मीनबहादुर बस्नेतले बताए ।

महोत्सवलाई सफल बनाउन नगरका १५ वटै वडामा वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय खेलकुद समिति गठन गरिएको छ । प्रत्येक खेलको ११ सदस्यीय विषयगत नगर खेलकुद समिति गठन गर्दै खेलकुदको माध्यमबाट मेचीनगरलाई उत्कृष्टताको परिचय दिने काममा समेत समिति सक्रिय रहेको सचिव वस्तीले बताए ।

करीब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सव सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति र झापा जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने छ । १५ गते मेचीनगर—१३ स्थित चारआलीबाट म्याराथन प्रतियोगिताको उद्घाटन गरी शुरु हुने महोत्सव २३ गते मेचीनगर— १० धुलाबारी माविको खेलमैदानमा समापन हुनेछ ।