झापाः १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोत्सव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर— १२ स्थित चारआली चोकबाट शुरु भएको म्याराथनको नगरप्रमुख विमल आचार्यले उद्घाटन गरे ।
प्रतियोगितामा चारआलीदेखि धुलाबारीसम्मको ६ किलोमिटरको दूरी तय गरिएको थियो । पुरुषतर्फ १७ मिनेट ८८ सेकेण्डमा उक्त दूरी पार गर्दै अञ्जित दर्जी प्रथम भए । भुपेन्द्र राई तथा सन्देश खवासले क्रमश दोस्रो र तेस्रो स्थान प्राप्त गरे । राईले १८ मिनेट २ सेकेण्ड तथा खवासले १८ मिनेट ८१ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । यसैगरी, रबिन राउतले १९ मिनेट ४ सेकेण्ड र तागेरा आङदेम्बेले २० मिनेट ३ सेकेण्डमा उक्त दुरी पार गर्दै चौथो र पाँचौँ भए । पुरुषतर्फ ५७ जना धावक सहभागी थिए ।
यसैगरी, महिलातर्फको ६ किलोमिटरको दूरी भवानी कामतले २१ मिनेट २३ सेकेण्डमा पार गर्दै पहिलो भइन् । सन्ध्याले २१ मिनेट ३१ सेकेण्ड र ऋतु मल्लिकले २१ मिनेट ५० सेकेण्डमा दूरी पार गरेर क्रमश दोस्रो र तेस्रो भए । सलिना तामाङले २२ मिनेट ४८ सेकेण्डमा र दृष्टि खड्काले २४ मिनेट २६ सेकेण्डमा दूरी पारेर क्रमश चौथो र पाँचौँ भए ।
महोत्सव आयोजक नगरस्तरीय खेलकुद विकास समिति मेचीनगरका अध्यक्ष नवीन बरालको सभापतित्वमा भएको कार्यक्रममा समितिका सचिव अनन्तप्रकाश वस्तीले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष सुमनध्वज थापाले स्वागत गरेको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापालगायतले बोलेका थिए ।
महोत्सव उद्घाटनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, नगरका विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधि, विभिन्न राजीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, सुरक्षा अधिकारीसहित खेलप्रेमीको सहभागिता थियो ।