झापाः शनिबारदेखि भुटानको थिम्पुमा हुन गइरहेको पाँचौ अन्तर्राष्ट्रिय गे—रोगी फाइटिङ तथा चौथो अन्तर्राष्ट्रिय पुम्से कान्स प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रशिक्षक प्रेम भण्डारीको नेतृत्वमा ३ महिलासहित १३ जना नेपाली खेलाडी टोलीलाई झापाको मेचीनगरमा बिदाइ गरिएको छ । नेपालको प्रतिनिधित्व गर्दै भुटान हिँडेको टोलीले ३३ केजी देखि ८० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक भण्डारीले जानकारी दिए ।
झापा जिल्ला तेक्वान्दो सङ्घले आयोजना गरेको कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य टार्जन सुब्बा र विजय न्यौपानेले खेलाडीलाई जीतको लागि शुभकामना दिएका थिए । उच्च मनोबलका साथ अनुशासित रूपमा आफ्नो खेल प्रदर्शन गर्न र प्रतियोगितामा हारजीत निश्चित भएकाले निराश नहुन पनि उनीहरूले आग्रह गरे ।
उनीहरुले नेपाली खेलाडीले विभिन्न खेलको माध्यमबाट नेपालको नाम उच्च बनाइरहेकाले फाइटिङ र पुम्से कान्स खेलबाट पनि नेपालले उपाधि उचाल्ने विश्वास व्यक्त गरे । बिदाइ कार्यक्रममा झापा जिल्ला सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, सचिव कुमार भट्टराई, प्रशिक्षक हरि भुजेल, दिनेश श्रेष्ठलगायतले खेलाडीलाई अबिर, टीका र खादा लगाएर बिदाइ गरेका थिए ।
सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १३ वटा देश सहभागी हुने बताइएको छ ।