इटहरीः इटहरीमा यही जेठ ३१ बाट रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ । इनरुवामा पहिलोपटक आयोजना भएको रात्रिकालीन क्रिकेट प्रतियोगिता इनरुवा बाहिर आयोजना हुने आयोजक एरिना टेलिभिजनले बताएको छ ।
एरिना प्रिमियर लिग (एपीएल)को आयोजक एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीका अनुसार प्रतियोगिता ९ दिनसम्म हरेक दिन साँझ ६ बजेपछि हुनेछ । लिग चरणमा ६ खेल, नकआउट चरणका २ सेमीफाइनल खेल र फाइनल खेल हुने कार्कीले बताए ।
आफ्नो टेलिभिजनको नामै खेलकुदसँग जोडिएकाले अब क्रमशः खेलकुदहरू आयोजना गर्ने र त्यसको लागि क्लब बनाइएको कार्कीले बताए । एरिना च्यालेन्जर्स नामक क्लब बनाएर आफूहरू क्रिकेटमा डेब्यु गरेको कार्कीले बताए । आज साँझ ४ बजेपछि इटहरी ९ को क्रिकेट रङ्गशालामा पत्रकार सम्मेलन तथा ट्रफी अनावरण गर्दै आयोजकले प्रतियोगितामा ६ टिम सहभागी हुने बताएको छ ।
नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब जस्ता राष्ट्रिय टिमसँगै विराटनगर ११, झापा ११, बेलबारी र आयोजक एरिना च्यालेन्जर्स प्रतियोगितामा सहभागी हुने आयोजकले बताएको छ ।
ट्रफी अनावरण कार्यक्रममा सुनसरी क्रिकेट सङ्घका अध्यक्ष सिपी पौडेल, नेपालमा पहिलोपटक रात्रिकालीन क्रिकेट गराउने इनरुवाका अफजल हुसेन लगायत सहभागी थिए । प्रतियोगिताको पुरस्कार र अन्य जानकारीहरू अगामी हप्ता सार्वजनिक गरिने आयोजकले बताएको छ ।
हरेक दिन ६ बजेबाट प्रतियोगिता हुने मैदानको तयारीस्वरूप घाँस काट्ने र मैदान सम्याउने काम भएको सुनसरी क्रिकेट सङ्घका अध्यक्ष सीपी पौडेलले बताए । पौडेलका अनुसार ८ वटा टावर बनाएर रात्रिकालीन समयमा प्रकाश दिने फ्लड लाइट जडान गरिने छ । विकेटको अगाडि ६० मिटर र दायाँबायाँ ५५÷५५ मिटरको मैदानमा क्रिकेट पिच बनाउने काम पनि जारी भएको पौडेलले बताए ।
रात्रिकालीन क्रिकेटले इटहरीमा क्रिकेटको क्रेज बढाउने पौडेलले बताए । ‘राखेप सदस्य सचिव केशव बिष्टको गृहनगरमा यस अगाडि भलिबल मात्रै रात्रिकालीन समयमा भएको थियो’, पौडेलले भने, ‘अब क्रिकेट पनि हुँदैछ । यसले यहाँको खेलकुद विकासमा ठूलो टेवा दिनेछ ।’