उर्लाबारीः किशोरीहरूलाई हिंसाबाट बचाउने उद्देश्यले मोरङको मिक्लाजुङमा आत्मरक्षा तालीम दिइएको छ ।
मिक्लाजुङ गाउँपालिकाको सहयोग र कुरोदय मार्सल आर्ट मोरङको आयोजनामा मिक्लाजुङ–३ धोबेनीस्थित कालिका माध्यमिक विद्यालयमा २ दर्जन बढी किशोरीहरूलाई आत्मरक्षा तालीम दिइएको हो । मङ्गलबार ७ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको मोरङ अध्यक्ष टीका भट्टराईले जानकारी दिए । कुरोदय मार्सल आर्टले ‘महिला हिंसाविरुद्ध हाम्रो सङ्कल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल नारा तय गरेर आफ्ना गतिविधि देशव्यापी बनाएको छ ।
देशमा महिला हिंसाभित्र पनि बढ्दो जबरजस्ती करणीको अपराधबाट आजित भएर यसप्रकारको खेललाई नेपालमा स्थापित गरिएको कुरोदय मार्सल आर्ट सङ्घ नेपालकी कार्यवाहक अध्यक्ष विद्या चाम्लिङले बताइन् । ‘यो खेलका लागि किशोरी, युवती अनि महिलाहरूलाई तालीम दिइएको छ,’ उनले भनिन्, ‘यसखाले तालीमको कलाबाट जबर्जस्ती गर्न आएकाहरूबाट फुत्किन सफल भएका घटना छन् ।’ यो खेल नेदरल्याण्डबाट भित्रिएको हो ।
प्रदेश नं. १ का प्रमुख प्रशिक्षक प्रकाशमान सिंह बस्नेतले कुरोदयको बढ्दो प्रभावकारिता झल्काउने क्रममा कम तागत र कम आक्रामक अवस्थामै बुद्धिको प्रयोग गरी आत्मरक्षाका लागि यो खेल खेल्न सकिने प्रष्ट्याए ।
‘लेस पावर, लेस कन्ट्याक र लेस मोसनमै खेल्न सकिने खेल हो’, उनले थपे, ‘यो भिन्न र कम समयमै सिक्न सकिने खेलमा पर्छ ।’