पथरीः मोरङको कानेपोखरी गाउँपालिकामा यही जेठ २५ गतेदेखि दोस्रो अध्यक्ष कप तथा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा वडास्तरीय फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स, म्याराथन दौड, बुद्धिचाल तथा मैत्रीपूर्ण महिला फुटबल खेल आयोजना हुने पत्रकार सम्मेलन आयोजना गरी जनाइएको छ । साथै रेफ्रीको लागि तालीम पनि गराइने जनाइएको छ ।

फुटबलतर्फका विजेताले ८० हजार प्राप्त गर्नेछन् भने उप–विजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै, भलिबलतर्फका विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । अन्य प्रतियोगिताको पुरस्कार राशी भने तोक्न बाँकी रहेको आयोजकले जनाएको छ ।

अधिकांश खेलमा गाउँपालिकामा रहेका ७ वटै वडाले सहभागिता जनाउने भएका छन् । फुटबल प्रतियोगिता वडा नं ७ को आइतबारे मैदानमा हुनेछ भने भलिबल खेल वडा नं ६ को जनसेवा माविको खेल मैदानमा हुनेछ । यस्तै केही खेलको थप तयारी भइरहेको आयोजकले बताएको छ ।

सो कार्यक्रममा समितिको तर्फबाट संयोजक भुपाल श्रेष्ठले प्रेस विज्ञप्ति वाचन गर्दै खेलकुद कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्ले, स्थानीय समाजसेवी भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता सञ्चालन गर्न १५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । अध्यक्ष कप अन्तर्गतको फुटबल र भलिबल प्रतियोगितामा ४ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा कानेपोखरी ५ को बी एण्ड बी कन्ट्रक्सनले प्रतियोगितामा सहभागिता जनाउने वडाका लागि जर्सी हस्तान्तरण गरेको थियो ।