इटहरीः सुनसरीको इटहरीमा सम्पन्न प्रदेश एक स्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । जीतसँगै मोरङले नगद १ लाख पुरस्कारसहित उपाधी हात पारेको छ ।
शुक्रबार इटहरीस्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा झापालाई ४८ रनले पराजित गर्दै मोरङले मेयरकप क्रिकेटको उपाधि कब्जा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ७७ रनको योगफल खडा गरेको थियो ।
१ सय ७८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको झापा १४ दशमलव ४ ओभरमा १० विकेट गुमाएर ८३ रनमा समेटिएको थियो । खेलको बेस्ट ब्याटसम्यान झापाका अङ्कित सुवेदी, बेस्ट बलर सुनसरीका सोनु मण्डल र खेलको म्यान अफ द सिरिज मोरङका सौगात भट्टराई घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीलाइ सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापा, अन्तर्राष्टिय एम्पायर बुद्धि प्रधान, शिरिस उपाध्याय लगायतले पुरस्कार प्रदान गरेका थिए । १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा पूर्वाञ्चल खेलकुद विकास समितिको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ६ टिम सहभागी थिए ।