सुनसरीः इटहरीमा सम्पन्न प्रथम एरिना च्यालेञ्ज रात्रीकालीन क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । सोमबार राती सम्पन्न फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई ८ विकेटले पराजित गर्दै पुलिसले उपाधीसँगै नगद १ लाख रुपैयाँ हात पारेको हो । उपविजेता आर्मीले ५० हजारमा चित्त बुझाएको छ ।
इटहरीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय २३ रनको योगफल बनाएको थियो । आर्मीका लागि इशान पाण्डेले सर्वाधिक २७ रन बनाए । सुधीर चौधरीले २३ रन बनाउँदा हरिकृष्ण झाले २२ र लोकेन्द्र चन्दले १७ रनको योगदान गरे । बलिङतर्फ पुलिस क्लबका चित्र बिष्ट र योगेन्द्र कार्कीले २–२ विकेट लिए ।
जवाफमा १ सय २४ रनको विजयी लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ८ दशमलव २ ओभरमा भेट्टायो । पुलिसका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए भने अनिल शाहले ३६ र सुनिल धमलाले १२ रन बनाए । बलिङतर्फ राहुल भण्डारी र विक्रम साउदले १–१ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका योगेन्द्र कार्की घोषित हँुदै नगद ५ हजार पाए । यस्तै उत्कृष्ट बलर पुलिसका नवीन थापा, उत्कृष्ट ब्याट्समेन र म्यान अफ द फाइनल पुलिसकै अनिल शाह घोषित भए । उनीहरू दुवै जनाले जनही नगद २ हजार ५ सय रुपैयाँ र ट्रफी पाए । प्रतियोगितामा नेपालका तीन विभागीय टिमसहित ८ टोलीको सहभागिता थियो ।