विराटनगरः काठमाडौंमा भएको पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाले हात पारेको छ ।
सशस्त्र प्रहरी बलको मैदानमा हिजो भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गरी ५ लाख रुपैयाँ हात पारेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा विराटनगरका खेलाडी रेखा पौडेल, इमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गरेका थिए । बाह्रबिसेका लागि भने रुबिना पहरीले सान्त्वना गोल गरेकी थिइन् ।
खेलको निर्धारित समयमा भने विराटनगरका लागि जमुना मगरले र बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिइन् । प्रतियोगितामा विजेता टिमकी रेखा पौडेल सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले उपाधिसहित ट्रफी र रु २५ हजार हात पारिन् । उत्कृष्ट गोलकिपर विराटनगरकी कल्पना कार्की, डिफेण्डर बाह्रबिसेकी सरिता शेर्पा, मिडफिल्डर बाह्रबिसेकी रजनी श्रेष्ठ र स्ट्राइकर बाह्रबिसेकै पार्वती घले घोषित भइन् । उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरका पारस चौधरीले पाए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही १० हजार प्राप्त गरे ।