बेलबारीः मोरङको बेलबारीमा आजदेखि शुरु भएको अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कानेपोखरी गाउँपालिकालाई केराबारी गाउँपालिकाले शून्यका विरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ ।

खेल शुरु भएको नवौं मिनेटमा कानेपोखरीका गोलकिपर प्रकाश कार्कीले रेड कार्ड पाएका थिए । कार्कीले डिबक्सभन्दा बाहिर गएर गोल समातेपछि रेफ्रीले रेड कार्ड दिएका थिए । उनले रेड कार्ड पाएपछि विशाल बस्नेतले किपरको रूपमा खेलेका थिए । खेलको मध्यान्तरसम्म दुवै गाउँपालिकाका खेलाडीले गोल गर्न सकेका थिएनन् ।

खेलको ४७ र ६१ आँै मिनेटमा केराबारीका जर्सी नम्बर ७ का मनिष लिम्बूले गोल गरेका थिए । ५१ औं मिनेटमा जर्सी नम्बर १० का भुवन बस्नेतले गोल गरेका थिए । शुक्रबारको खेलमा २ गोल गर्ने केराबारीका मनिष लिम्बू म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गरेका थिए । उद्घाटन गर्दै मन्त्री आङवोले प्रदेश नम्बर १ लाई पर्यटन र खेलकुदको माध्यमबाट विश्व चिनाउने गरी सरकार लागिपरेको बताए ।

यस्तै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले अन्तरपालिका सम्बन्ध सुदृढ बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा ११ ओटा स्थानीय पालिकाले भाग लिएका छन् । केराबारी, लेटाङ, विराटनगर, कानेपोखरी, उर्लाबारी, सुन्दरहरैंचा, रतुवामाई, ग्रामथान, मिक्लाजुङ र पथरीशनिश्चरेको सहभागिता रहेको मेयर कप सञ्चालक समितिका सचिव मिलन राईले बताए ।

सो प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

65069911_113342193280246_9098762099156320256_n