विराटनगरः शनिबार नगरसभाको बन्दसत्र चल्दै गरेको समयमा केहीबेर कार्यक्रम रोकेर विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले महिला फुटबल टोलीलाई खादा, माला र फूलअबिर लगाएर सम्मान गरे ।

विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार नगदसहित सम्मान गरेको हो । प्रतियोगिता काठमाडौंमा भएको थियो । बाह्रबिसे नगरपालिकालाई फाइनलमा हराई विराटनगरले उपाधी चुमेको थियो ।

सम्मान कार्यक्रममा महानगरपालिकाको तर्फबाट नगरप्रमुख भीम पराजुलीले महिला टिमले उपाधीसहित जितेको नगद रु. ५ लाखमा महानगरको तर्फबाट ५ लाख रुपैयाँ थप गरी बधाइ तथा शुभकामना दिए यो जीतले विराटनगर खेलकुदप्रति सशक्त छ भन्ने सन्देश दिएको पराजुलीको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरले खेलकुद नगर परिषद गठन गरेर खेल क्षेत्रको समग्र विकासको लागि काम थाल्ने तयारी गरेको बताए । क्रिकेट र फुटबलतर्फ ५०÷५० जना महिला र १÷१ सय जना पुरुषलाई प्रशिक्षण दिई दक्ष बनाउन महानगरले प्रयास थाल्ने उनको भनाइ थियो ।
महिला टिमका म्यानेजर उद्धव अर्यालले निकै मिहिनेत गरेर विराटनगरको टिमले निकै मजबुत मानिएको टोलीलाई हराएर उपाधी हात पारेको बताए ।