बेलबारीः मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगिताका लागि शनिबार भएको खेलमा सुन्दरहरैँचा नगरपालिका र मिक्लाजुङ गाउँपालिका विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा सुन्दरहरैंचा नगरपालिकाले रतुवामाई नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेल शुरु भएको ३ मिनेटमै रतुवामाईका इस्लाम खानले गोल गरेका थिए । त्यसपछि उसले गोल गर्न भने सकेन । खेलको ११ औं र ३२ औं मिनेटमा सुन्दरहरैंचाका लागि कमल खवास र आशिष चौधरीले १÷१ गोल गरेका थिए ।

यस्तै, दोस्रो खेलमा मिक्लाजुङले ग्रामथान गाउँपालिकालाई शून्यका विरुद्ध १ गोल गरेको थियो । मिक्लाजुङका लागि सुशील राईले १८ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा ११ ओटा स्थानीय तहले भाग लिएका छन् । प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलका म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।