धरानः धरानमा भइरहेको सुनसरी जिल्ला नकआउट फुटबल प्रतियोगितामा धरान फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

शनिबार धरान रङ्गशालामा भएको सेमीफाइनलमा टेम्के–११ लाई १–० गोल अन्तरले पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेको हो । धरानका लागि एकमात्र गोल धिरेन लिम्बूले गरेका थिए ।

फ्रिकिक प्रहारमा धरानका खेलाडीले गरेको हेड बल पोलमा लागेर फर्किएको थियो । सो बललाई लिम्बूले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच घोषित भएका लिम्बूलाई धरान फुटबल क्लबका सल्लाहकार मीन सुब्बाले पदक प्रदान गरेका थिए ।

त्यसैगरी शनिबार नै भएको अर्काे खेलमा जीत दर्ता गर्दै दुहबीको इलेभेन एरोज क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । एलेभेन एरोजले धरानको गोधुली क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । एलेभेन एरोजका लागि अजय चौधरीले गोल गरेका थिए ।

गोलकिपर अगाडि बढेको अवस्थामा चिप गर्दै उनले गोललाई जाली चुमाएका थिए । खेलको म्यान अफ द म्याच घोषित भएका चौधरीलाई एन्फा एकेडेमीका प्रशिक्षक सुमन राईले मेडल प्रदान गरेका थिए ।

इलेभेन एरोजले आइतबार इटहरीको राष्ट्रिय जागृतिसँग सेमीफाइनलमा प्रतिष्पर्धा गर्नेछ । सेमीफाइनलको विजेताले सोमबार धरान फुटबल क्लबसँग फाइनल खेल्नेछ ।

प्रतियोगितामा सुनसरीका ८ टिम सहभागी छन् । बिहीबार शुरु भएको प्रतियोगिताको विजेता टोलीले कोशी क्षेत्रअन्तर्गत सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका जिल्ला विजेतासँग लिग खेल्नेछ ।

लिगको विजेताले १ नं. प्रदेश मुख्यमन्त्री लिग खेल्ने मौका पाउनेछ भने राष्ट्रिय लिग छनोट खेल्ने मौका समेत पाउनेछ । प्रतियोगिता सोमबार सम्पन्न हुने आयोजकले जनाएको छ ।