बेलबारीः मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा आफ्नै खेल मैदानमा आयोजक बेलबारी रातो सुन्दरहरैंचासँग पराजित भएको छ ।
सोमबार भएको पहिलो खेलमा सुन्दरहरैंचाले खेलको अन्तिम समयमा १ गोल गरेको थियो । सुजन चौधरीले गरेको गोलले नै सुन्दरहरैचाका लागि सेमीफाइनलका लागि यात्रा तय गर्न सहज भयो ।
यस्तै, दोस्रो खेलमा पथरीशनिश्चरे नगरपालिकाले मिक्लाजुङ नगरपालिकालाई शून्यका विरुद्ध ३ गोल गरेको छ । प्रतियोगितामा केराबारी, लेटाङ, विराटनगर, कानेपोखरी, उर्लाबारी, सुन्दरहरैंचा, रतुवामाई, ग्रामथान, मिक्लाजुङ र पथरीशनिश्चरेका ११ वटा टिमको सहभागिता रहेको छ ।
सो प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।