धरानः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना र १ नम्बर प्रदेश सरकारको व्यवस्थापनमा मुख्यमन्त्री कप प्रदेश लिग अन्तर्गत क्षेत्र २ को प्रतियोगिता आजदेखि धरानमा शुरु हुने भएको छ ।

धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रङ्गशालामा प्रतियोगिता आयोजना हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । असार २२ गतेसम्म चल्ने प्रतियोगितामा पाँच जिल्लाको सहभागिता हुने एन्फाले जनाएको छ ।

एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिताका सल्लाहकार किशोर राईका अनुसार प्रतियोगितामा तेह्रथुमको तेह्रथुम जिल्ला फुटबल सङ्घ, भोजपुुरको कोदार फुटबल क्लब, धनकुटाको बौद्धिक विकास समिति, सङ्खुवासभाको मिरमिरे युवा क्लब, इटहरीको जागृति फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

आजको उद्घाटन खेल तेह्रथुम र धनकुटाको क्लबबीच हुने भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियले गर्ने कार्यक्रम तय भएको प्रतियोगिताका प्रचारप्रसार संयोजक प्रताप तामाङले जानकारी दिए ।