धरानः मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल चरणको खेलमा सुनसरी र झापाले विजयी शुरुवात गरेका छन् ।

शुक्रबार भएको खेलमा धरान फुटबल क्लब सुनसरीले बौद्धिक विकास समाज समिति धनकुटालाई ३–२ गोल अन्तरले पराजित गरी ३ अङ्क बनाएको छ । धरानका तर्फबाट खेलको २० औं मिनेटमा विनोद राईले, ८९ औं मिनेटमा दोर्जे तामाङले र ९२ औं मिनेटमा धरानका उमेश राईले गोल गरेका थिए ।

त्यस्तै, ६१ औं मिनेटमा धनकुटाका रेवतराज भण्डारीले र ९३ औं मिनेटमा विरेन लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरानका विनोद राई घोषित भए । उनलाई नगद रु ५ हजार र ट्रफी प्रदान गरिएको थियो । धरानले अब मोरङको बेलबारी फुटबल क्लबसँग आइतबार प्रतिष्पर्धा गर्नेछ भने धनकुटाले मोरङको बेलबारी फुटबल क्लबसँग शनिबार प्रतिष्पर्धा गर्नेछ ।

शुक्रबार भएको अर्काे खेलमा झापाको सैनिक युथ क्लबले खोटाङको बाक्सिला फुटबल क्लबलाई ६–३ गोल अन्तरले पराजित गरी ३ अङ्क बटुलेको छ । खोटाङले दोस्रो मिनेटमा नै श्रीकृष्ण श्रेष्ठको गोल मार्फत् अग्रता लिएको थियो । खोटाङका लागि ३२ औं मिनेटमा सुदीप केसीले र ५३ औं मिनेटमा शैलेन्द्र बजीमयले थप गोल गरेका थिए ।

उता, झापाको तर्फबाट ४३ औं मिनेटमा मिलन राईले पहिलो गोल गरेका थिए । झापाका कप्तान विकेश सुब्बा एक्लैले ४ गोल गरेका थिए । उनले खेलको ६२ औँ, ६६ औं, ८४ औं र ९४ औं मिनेटमा गोल गरेका थिए । ७६ औं मिनेटमा सौरभ लिम्बूले गोल गरेका थिए ।

४ गोल गर्ने सुब्बा खेलको म्यान अफ द म्याच घोषित भई रु ५ हजार र ट्रफी हात पारे ।

football  (1)