धरानः धरानमा भइरहेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको शनिबार भएको खेलमा मोरङको बेलबारी फुटबल क्लब विजयी भएको छ ।

बेलबारीले धनकुटाको बौद्धिक विकास सेवा समाजलाई ६–१ गोल अन्तरले पराजित गर्दै ३ अङ्क हात पारेको छ । बेलबारीका तर्फबाट खेलको पहिलो मिनेटमा नै किरण लिम्बूले गोल गरेका थिए ।

पहिलो हाफ १–० ले अघि रहेको बेलबारीले दोस्रो हाफमा थप ५ गोल गरेको थियो । बेलबारीका लागि खेलको ४८ औं मिनेटमा भूषण लिम्बूले गोल गरे भने ६१ औं मिनेटमा वीरेन्द्र लिम्बूले गोल गरे । त्यस्तै सुसन लामाले खेलको ६७ औँ र ७३ औं मिनेटमा गोल गरेका थिए । खेलको ७७ औं मिनेटमा मोरङका भूषण बस्नेतले गोल गरेका थिए । खेलको थप समयमा धनकुटाका सञ्जय रम्तेलले सान्त्वना गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच बेलबारीका सुसन लामा घोषित भए । उनलाई नगद रु ५ हजार सहित ट्रफी प्रदान गरिएको थियो ।