धरानः मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लब पुगेका छन् ।

धरानमा भइरहेको लिगको फाइनल चरणको खेलमा मोरङ समूह क को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो भने झापा समूह ख को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो । मोरङले पहिलो खेलमा धनकुटालाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको थियो ।

आइतबार भएको खेलमा बेलबारीले धरानलाई २–१ ले पराजित गर्दा बेलबारीका मौसम लिम्बूले खेलको ४४ औ मिनेटमा गोल गरे भने दोस्रो गोल ९१ औ मिनेटमा एनस मगरले गरेका थिए । खेलको म्यान अफ द म्याच बेलबारीका सौरभ कार्की घोषित भए । उनलाई नगद रु ५ हजार र ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै आइतबार नै भएको समूह ख को अन्तिम खेलमा झापाको सैनिक युथ क्लबले इलामको रेडहर्ष फुटबल क्लबलाई पराजित गर्दै समुह विजेता भएको छ । सैनिक युथ क्लबका लागि मिलन राईले खेलको १८ औं मिनेटमा गोल गरे भने अभिषेक गुरुङले ३० मिनेटमा गोल गरी अग्रता दोब्बर बनाएका थिए । त्यस्तै रेजिन माझीले सैनिक युथ क्लबका लागि गोल गर्दै जीत दिलाए । ।

रेडहर्षका लागि दर्शन गुरुङले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच झापाका अभिषेक गुरुङ घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो । फाइनल खेल मङ्गलबार हुने आयोजकले जनाएको छ ।