धरानः आज हुने मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका लागि मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लबले तयारी पूरा गरेको जनाएका छन् ।

झापाका प्रशिक्षक प्रवेश कटुवालले जिल्ला लिग च्याम्पियन हुँदै आफूहरू मुख्यमन्त्री कपको फाइनल जित्न सक्षम रहेको दाबी गरे । उनले आफूहरूसँग स्तरीय खेलाडी रहेको बताए ।

बेलबारी फुटबल क्लबका सहायक प्रशिक्षक सुनिल पोखरेलले आफूहरूले धेरै पहिलेदेखि फुटबलमा राम्रो गर्दै आइरहेकाले यो प्रतियोगिताको उपाधि पनि जित्ने दाबी गरे । आफ्नो टिममा बी डिभिजन खेलेका खेलाडी र नव प्रतिभावान खेलाडी भएकाले फाइनल जित्नेमा ढुक्क रहेको उनको भनाइ थियो ।

फाइनलको विजेताले ४ केजी चाँदीको रनिङ ट्रफीका साथै ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै फाइनल चरण खेल्ने ४ टिमलाई ७५ हजारका दरले सान्त्वना पुरस्कार दिइने आयोजक समिति सदस्य तथा एन्फाका सहायक महासचिव वसन्त अर्यालले बताए ।

उत्कृष्ट खेलाडीलाई १ लाख नगद पुरस्कारका साथै फाइनल खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ र प्रतियोगिताका विधागत उत्कृष्टलाई २५ हजारका दरले पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।