इटहरीः राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्गलबार सम्पन्न भएको छ । प्रतियोगितामा प्रदेश नम्बर ५ पहिलो हुँदा प्रदेश नम्बर १ दोस्रो भएको छ ।

प्रतियोगितामा ६ खेल समावेश भएका थिए । सो प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कास्य जितेर च्याम्पियन बनेको हो । प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोस्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेस्रो भए ।

प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने । त्यसमा पनि प्रदेश ५ कै वर्चस्व रह्यो । छात्रको ४ गुणा ४ सय मिटर रिले दौडमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवन केवटले कीर्तिमान बनाए । सोही स्पर्धाको छात्रामा अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे । त्यस्तै छात्राको सटपुटमा सङ्गीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे । प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी समावेश प्रतियोगिताका विजेतालाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । व्यक्तिगत स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए । त्यस्तै टिममा पहिलो हुनेले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय नगद पुरस्कार हात पारे ।