इलामः नेपालमा पहिलो पटक आयोजना भएको पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ ।

प्रदेश नं १ सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रूपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को सरकारले महिला साफ फुटबल च्याम्पियनसीपमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उद्देश्यले गत चैत ८ गते मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख र उपविजेता भएका १ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

सो प्रतियोगितामा नेपाली टिम उपविजेता भएपछि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनही ५० हजार दिने घोषणा गरेका थिए । खेलाडीलाई सोमबार विराटनगरमा नगदसहित सम्मानपत्र प्रदान गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीले बताए ।

त्यसैगरी, फाइनल खेलको भोलिपल्ट विराटनगरमा बसेको एन्फाको बैठकले उपविजेता खेलाडीलाई जनही १ लाख नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । एन्फाको पुरस्कार भने खेलाडीले पाएका छैनन्