ताप्लेजुङ: ताप्लेजुङमा अघिल्लो वर्ष सञ्चालित तेश्रो पाथीभरा गोल्डकप प्रतियोगिताकोे आय व्याय आईतबार सार्वजानिक भएको छ । गत वर्षको भदौमा सञ्चालित प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नती साथै स्टेज निर्माणमा ठुलो रकम खर्च भएकाले साढे ४ लाख बढिको घाटा बेहोर्नु परेको प्रतियोगिताको आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका क्रममा ३७ लाख ७ हजार ८९० रुपैँया आय प्राप्त भएको थियो । खेल गतिविधिमा आय बराबरकै रकम खर्च भए पनि स्टेज र खेल मैदानको स्तरोन्नतीका क्रममा समेत समितिले खर्च गरेकाले घाटा बेहोर्नु परेको बताईएको छ ।

स्टेज र खेल मैदानको स्तरोन्नतीका लागि फुङलिङ नगरपालिकाको वडा नम्बर ४ ले ४ लाख रुपैँया दिएको थियो । तर सो रकमले स्टेज र खेल मैदान स्तरोन्नतीका लागि नपुग्ने भएपछि आफैँ उपभोत्ता समितिको रुपमा रहेको आयोजकले रकम थप गरेर ९ लाख ६० हजार ६७४ रुपैँयाको लागतमा स्तरोन्नतीको काम सम्पन्न गरेको आयोजक समितिका कोषाध्यक्ष विनोद भारतीले जानकारी दिए । उक्त काम सम्पन्न गर्नका लागि आय तर्फकै ३ लाख २८ हजार खर्च गरेको जनाईएको छ । खेल सम्पन्न गर्नका लागि स्टेज र खेल मैदान स्तरोन्नतीको काम जसरी पनि सम्पन्न गर्नु पर्ने हुँदा आयोजकले घाटा बेहोरेर पनि काम गर्नु परेको भारतीले बताए  । यसको व्यायभार समेत आयोजक समितिको दायित्व भित्र रहने उनको भनाई छ ।

यता यो वर्ष सञ्चालन हुने चौथो पाथीभरा गोल्डकप आयोजना बारे भने समिति भित्र छलफल भईरहेको बताईएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित आय व्याय विवरण तयार भईरहेकाले चाँडै प्रतियोगिता सञ्चालन बारे निर्णयमा पुग्ने खेल सञ्चालक समितिका सचिव लक्ष्मि प्रसाद काफ्लेले जानकारी दिए ।