तस्बिर: शिशिर राई
धरानः विद्यालयको गर्र्मी बिदालाई लक्षित गर्दै धरान बास्केटबल सङ्घको आयोजनामा तेस्रो समर बास्केटबल ट्रेनिङ क्याम्प शुरु भएको छ ।
शनिबारदेखि प्रशिक्षण शुरु भए पनि आइतबार औपचारिक रूपमा ट्रेनिङ क्याम्पको उद्घाटन गरिएको छ । विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यले समर क्याम्प शुरु गरिएको नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सुरजकुमार लामाले बताए ।
आयोजकले धरान उपमहानगरपालिकाको बालमैत्री अभियानमा साथ दिँदै समर क्याम्पलाई ‘बालमैत्री समाज हाम्रो प्रतिबद्धता’ नारा दिएको छ । धरान–१६ रङ्गशालास्थित प्रदेश १ को पहिलो इन्डोर बास्केटबल कोर्टमा तेस्रो समर क्याम्प शुरु भएको हो । २ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएको क्याम्पका संयोजक प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जनाए ।
क्याम्पमा करीब १ सय जनाले सहभागिता जनाउने आयोजकको भनाइ छ । उनीहरूलाई प्रशिक्षक विकास चाम्लिङको नेतृत्वमा प्रदेश १ बास्केटबल टिम क्याप्टेन नवीन राई, प्रशिक्षक हेमन्त राई, डा. आशा राई, पञ्चधन राई, सुजन राई, भोजराज लिम्बू, सिर्जन आचार्यलगायतले प्रशिक्षण दिनेछन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि धरान हङकङ मञ्चका सचिव नारद राई, धरान– १८ वडाध्यक्ष प्रवीण राई, धरान–१९ वडा सदस्य तिलक राई, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो । सुनसरी बास्केटबल सङ्घको सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न क्याम्प साउन २३ गते सम्म चल्ने आयोजकले जनाएको छ ।