धरानः धरान– १६ स्थित धरान रङ्गशालामा सोमबारदेखि साउन १५ गतेसम्म फुटबल फ्यान क्लबको आयोजनामा फुटबल प्रशिक्षण क्याम्प हुने भएको छ ।
प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न स्कुलका करिब १ सय ५० विद्यार्थी सहभागी हुने क्लबका महासचिव रामकृष्ण खड्काले बताए । क्याम्पबारे जानकारी दिन धरानमा आइतबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव खड्काले गर्मी बिदाको अवसर पारेर कक्षा–१ देखि १० सम्मका विद्यार्थीलाई सहभागी गराइन लागेको बताए ।
क्लबका अध्यक्ष अशोककुमार राईका अनुसार गत वर्ष शुरु भएको रियो समर फुटबल प्रशिक्षण क्याम्पलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । छात्र र छात्रा दुवैलाई दिइने प्रशिक्षणमा एएफसी लाइसेन्सप्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराइने अध्यक्ष राईले बताए । रियो जुसले संयोजन गरेको प्रशिक्षणको प्रशिक्षकमा सुवास केसी, राजन मगर, भगवती राना, हेम गुरुङ, सुरज बिक, विनय श्रेष्ठलगायतले प्रशिक्षण दिनेछन् ।
धरान उपमहानगरपालिकाले संयोजना गरेको क्याम्प बिहान ६ बजेदेखि ८ बजेसम्म प्रशिक्षण हुने बताइएको छ ।