विराटनगरः मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का सचिवालय सदस्य तथा खेल प्रमुख रोहित कोइरालाले पोखरिया डोजोका खेलाडीलाई पोशाक सहयोग गरेका छन् ।

शनिबार पोखरिया मावि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि युवा सङ्घ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले कराते गि, टी सर्ट, ग्लोब लगायतका पोशाक वितरण गरे ।

पोशाक वितरण कार्यक्रमका प्रमुख अतिथि बस्नेतले संसारलाई जित्ने माध्यम खेलकुद रहेको भन्दै खेलले व्यक्तिलाई मात्र नभई समाज र राष्ट्रलाई स्वस्थ राख्न भूमिका निर्वाह गर्ने बताए ।

नेपालमा भने खेल क्षेत्रमा अपेक्षाकृत बजेट आउन नसक्दा समस्या भइरहेको उनले बताए । ‘अहिले शिरदेखि तिरसम्म खेललाई बुझेकाहरूको नेतृत्व स्थापित हुँदैछ,’ उनले भने, ‘अब खेलकुदको अपेक्षाकृत विकास हुन्छ ।’ पोखरिया डोजोले निरन्तर खेलाडी उत्पादन गरेर राष्ट्रका लागि योगदान गरिरहेको उनले बताए ।

कार्यक्रममा रोहित कोइरालाले पोखरिया डोजोले करातेमा विराटनगर र प्रदेशको नाम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे । नेपाल र भारतका विभिन्न प्रतियोगितामा भाग लिएर यो डोजोका खेलाडीले पदक जित्दा प्रदेश १ का सबै खेलप्रेमी हर्षित हुने गरेको उनले बताए । लामो समय खेल क्षेत्रमा रुचि राख्दै आएका कोइरालाले सानो भए पनि सहयोग गर्ने अवसर दिएकोमा धन्यवाद दिए । उनले भने, ‘म हरेक खेलाडीसँग साथमा साथ मिलाएर हिँड्न चाहन्छु ।’

पोखरिया डोजोका संस्थापक तथा प्रमुख प्रशिक्षक विनोद राउतले खेलाडीहरूले पाएको सफलताको चर्चा गर्दै यस्ता सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने बताए । खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको भन्दै उनले खेलाडीले सकेसम्म राष्ट्रका लागि र नसक्दा आफ्नो स्वास्थ्यका लागि पनि निरन्तर अभ्यास गर्न सुझाव दिए ।

कार्यक्रममा करीब १५ हजार मूल्य बराबरको पोशाक र पोखरिीया डोजोका २०७५ का उत्कृष्ट खेलाडी सुवास चौधरीलाई नगद ३ हजार १ सय पुरस्कार प्रदान गरियो ।

२०५२ मा शुरु भएको पोखरिया डोजोले निरन्तर खेलाडी उत्पादन गर्दै आएको छ । यहाँका खेलाडीले नेपाल र भारतका विभिन्न प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै प्रशस्त मेडल जितेका छन् ।

pokhariya doso  (2) pokhariya doso  (5)