काँकरभिट्टाः नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्ने उद्देश्यले झापाको मेचीनगरमा पहिलो पटक ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिता हुने भएको छ । यसलाई आयोजकले १ नम्बर प्रदेशकै पहिलो प्रतियोगिता हुने दाबी गरेको छ ।

आयोजक धुलाबारी जेसीजले पत्रकार सम्मेलन गरी भोलि शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष केशवप्रसाद पोखरेलले सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई प्रवद्र्घन गर्न नेपाल जेसीजले समेत सबै शाखालाई आह्वान गरेको बताए ।

सोहीअनुसार झापाको मेचीनगर— ११ स्थित कालिका सामुदायिक बन क्षेत्रमा रहेको कालिका सिमसारमा प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए ।

झापा जिल्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त सम्भावना बोकेको जिल्ला भएकोले र त्यसमा पनि मेचीनगरमा विभिन्न पर्यटकीय गन्तव्य क्षेत्र रहेका हुनाले ती गन्तव्यको प्रचार होस् भन्ने हेतुले प्रतियोगिताको तयारी गरिएको उनले बताए ।

सो प्रतियोगितामार्फत् मेचीनगर क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्घन हुने आयोजकको अपेक्षा रहेको कार्यक्रम संयोजक राजीव प्रसाईंले बताए । जेसीजले आगामी दिनमा पर्यटकीय क्षेत्रको गन्तव्य छनोट गरी विविध कार्यक्रम गर्र्ने तालीम संयोजक योगेश राजवंशीले बताए ।

प्रतियोगितामा झापाका १४ वटा जेसीज शाखाका १ सय बढी सदस्यसहित सामुदायिक वनका उपभोक्ता र स्थानीयको सहभागिता हुने जेसीजका कोषाध्यक्ष सागर खनालले जानकारी दिए ।

प्रत्येक शाखाबाट ४ जना सदस्य प्रतियागीको रूपमा सहभागी हुने भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले पुरस्कार र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।