धरानः बास्केटबल खेलको प्रवद्र्धनका लागि धरानमा निर्माण भएको प्रदेशकै पहिलो इनडोर बास्केटबल कोर्टको उद्घाटन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले ६ वर्ष अघि निर्माण गरेको कभर्डहल प्रयोगविहीन रहेपछि त्यसलाई धरान बास्केटबल सङ्घले इनडोर बास्केटबल कोर्ट बनाउन पहल गरेको थियो । धरान उपमहानगरपालिकाको खेलकुद विकास समितिको २० लाख रुपैयाँको लागतमा इनडोर बास्केटबल कोर्ट निर्माण भएको हो ।

सो कोर्टको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले उद्घाटन गरिन् ।

धरान–१६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा रहेको बास्केटबल कोर्ट निर्माणले खेलाडीलाई उत्साहित बनाएको सङ्घका केन्द्रीय उपाध्यक्ष तथा धरान बास्केटबल सङ्घका अध्यक्ष सुरजकुमार लामाले बताए । उनले भने, ‘अब जुनसुकै बेला पनि खेल्न सकिन्छ, वर्षामा पनि प्राक्टिस गर्न समस्या भएन, बास्केटबल खेलको प्रवद्र्धनमा टेवा पु¥याएको छ ।’

उद्घाटनको अवसरमा धरान पत्रकार र भेट्रान बास्केटबल खेलाडीबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता भएको थियो । खेलमा पत्रकारको टिमले ३१ –१४ अङ्कको अन्तरले भेट्रान टिमलाई पराजित गरेको थियो । विजेतालाई कार्यक्रमका सभाध्यक्ष धरान खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले पुरस्कार प्रदान गरेका थिए ।

बास्केटबलको बढ्दो क्रेज र नेपालमा हुन लागेको साग प्रतियोगिताको कुरा आएपछि कोर्ट निर्माणमा जोड दिएको कार्यवाहक प्रमुख सुवेदीले बताइन् ।