धरानः नेपालमा हुन गइरहेको १३ औं साग च्याम्पियनसीपको लागि धरानमा शुरु भएको बास्केटबल खेलको राष्ट्रिय बन्द प्रशिक्षणका लागि धरान उपमहानगरपालिकाले खेलकुद सामग्री प्रदान गरेको छ ।
बन्द प्रशिक्षणका लागि देशैभरबाट आएका ६४ जना खेलाडीसहित ६ जना प्रशिक्षकका लागि सामग्री प्रदान गरिएको हो ।
खेलाडीलाई स्वागत गर्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले खेलकुद सामग्री प्रदान गरेकी हुन् ।
धरान खेलकुद विकास समितिको पहलमा खेलाडीका लागि विफ ६० थान, प्रशिक्षणका लागि कर्ना, खेलमैदानमा ओछ्याउनका लागि म्याट र प्रशिक्षकलाई ट्रयाक सुट प्रदान गरिएको समितिका अध्यक्ष सुवास राईले बताए ।
शुक्रबारदेखि धरान–१६ स्थित प्रस्तावित रङ्गशालामा रहेको इनडोर बास्केटबल कोर्टमा बन्द प्रशिक्षण शुरु भएको छ । प्रशिक्षणको औपचारिक रूपमा धरानकी कार्यवाहक प्रमुख सुवेदीले मुख्य प्रशिक्षकलाई बास्केटबल हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गरेकी थिइन् ।
मुख्य प्रशिक्षक दिनेश नकर्मीका अनुसार बन्द प्रशिक्षणमा पहिलो चरणमा महिला र पुरुष दुवैतर्फ ५÷५ का लागि २४÷२४ जना र ३÷३ का लागि ८÷८ जना खेलाडी रहेका छन् । बन्द प्रशिक्षणबाट प्रतियोगिताका लागि ५÷५ का लागि १६÷१६ जना र ३÷३ का लागि ६÷६ जना महिला र पुरुष खेलाडी छनोट हुने भएका छन् । प्रशिक्षण ४ हप्तासम्म धरानमा चल्नेछ ।