धरानः धरान उपमहानगरपालिका अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबलतर्फ रमेश राई र विनय गुरुङको समूह विजेता बनेको छ भने महिलातर्फ श्वेता राई पहिलो भएकी छिन् ।
सङ्घीय प्रहरी इकाइ कार्यालय धरानको बहुउद्देश्यीय ब्याण्डमिन्टन कोर्टमा भएको शनिबारको फाइनल खेलमा पुरुष तर्फको विजेता समूहले विनोदकुमार पोखरेल र किशोर अधिकारीको समूहलाई २१–१४ र २१–१७ को अन्तरले हराएको थियो । त्यसैगरी, महिलातर्फको खेलमा विजेताले दोस्रो बनेकी लक्ष्मी तामाङलाई २१–४, २१–५ को अन्तरले हराएकी थिइन् ।
त्यस्तै, पुरुषतर्फको खेलमा राजेन्द्रकुमार राई, शिशिर श्रेष्ठ तथा गणेशप्रसाद खतिवडा र शैलेश शाक्यको समूह तेस्रो बनेको थियो भने महिलातर्फ कृष्णा जोशी र सुनिता कार्की तेस्रो भएका थिए ।
पुरुष डबलका पहिलो र दोस्रो विजेताले क्रमशः १० हजार, ६ हजार र तेस्रो हुने २ जनाले २ हजारका दरले नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यता, महिलातर्फका पहिलो र दोस्रो हुनेले क्रमशः ५ हजार, २ हजार ५ सय र तेस्रो हुने २ जनाले जनही २ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
विजयी खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले पुरस्कार प्रदान गरेकी थिइन् ।
धरान नगर खेलकुद विकास समितिको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगितामा ३४ जना खेलाडीको सहभागिता रहेको थियो ।