ताप्लेजुङः ताप्लेजुङमा आगामी साउन ३० गतेदेखि चौथो पाथीभरा गोल्डकप प्रतियोगिता हुने भएको छ । लाखे जात्रा तथा जनै पूर्णिमाको अवसरमा हरेक वर्ष हुँदै आएको सो प्रतियोगिताको चौथो संस्करण साउन ३० गतेदेखि शुरु हुने भएको हो ।
भदौ ६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १० टिम सहभागी हुने लाखेजात्रा खेल सञ्चालन समितिले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । भारतको रोयल फुटबल क्लब, बेलबारी फुटबल क्लब, एलेभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्पोर्टिङ क्लब झापा, रेडस्टार क्लब झापा, रेडहर्ष क्लब इलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर र घरेलु २ टिम प्रतियोगितामा सहभागी हुने भएका हुन् ।
लाखेजात्रा तथा जनै पूर्णिमाको अवसरमा २०२९ सालदेखि निरन्तर ताप्लेजुङमा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । २०७२ सालसम्म कञ्चनजङ्घा च्यालेञ्ज रनिङ कप भनेर खेलाइँदै आएकोमा त्यसपछि भने पाथीभराको प्रचार–प्रसार गर्ने उद्देश्यसहित पाथीभरा गोल्डकप नाम राखिएको हो ।
पूर्वमा सबैभन्दा धेरै दर्शक पाउने दाबी गरिँदै आएको सो प्रतियोगिताको विजेताले ३ लाख ११ हजार नगदसहित ट्रफी पाउनेछ । यस्तै उपविजेताले १ लाख ५१ हजार नगदसहित ट्रफी पाउनेछ ।
खेलकुदको माध्यमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार गरी जिल्लाको पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताए ।