तस्बिर सौजन्य ः शिशिर राई

धरानः विद्यालयको गर्मी बिदालाई लक्षित गरी आयोजना गरिएको तेस्रो समर बास्केटबल ट्रेनिङ क्याम्प सम्पन्न भएको छ ।

धरान बास्केटबल सङ्घको आयोजनामा भएको समर क्याम्पमा २ कक्षादेखि १२ कक्षा सम्मका १ सय १७ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । धरान उपमहानगरपालिकाको खेलकुद विकास समितिको सहयोगमा आयोजित समर क्याम्प धरान–१६ स्थित प्रस्तावित रङ्गशालाको इन्डोर बास्केटबल कोर्ट र डिपो स्कुल बास्केटबल कोर्टमा साउन ४ गतेदेखि३ हप्तासम्मचलेको थियो ।

समापनको अवसरमा समर क्याम्पमा सहभागी मध्येबाट उत्कृष्ट उदीयमान महिला र पुरुष खेलाडीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा महिलातर्फ निशा राई र पुरुषतर्पm गगन राई रहेका छन् । उनीहरूलाई हिमाल कलेक्सन र हाम्रो कलेक्सनको तर्फबाट स्पोर्टस जुत्ता र बास्केटबल प्रदान गरिएको छ ।

सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न भएको क्याम्पमा प्रदेश १ का बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, भोजराज लिम्बू, हेमन्त राई, नवीन राई, डा.आशा राई, अनु राई, सिर्जन आचार्य, विराज लिम्बू, सुजन राई र पञ्चधन राईले प्रशिक्षण दिएका थिए ।

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, नगर खेलकुद विकास समिति अध्यक्ष सुवास राई, एम्स ऐेकेडेमीका व्यवस्थापक तथा अध्यक्ष प्रकाश राई, पूर्व राखेप सदस्य विजय राई लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूलाई कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले प्रमाणपत्र वितरण गरेकी थिइन् ।