धरानः धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले आफ्ना आमाबुबाको स्मृतिमा खुला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएका छन् ।
राई परिवारले स्थापना गरेको पृथ्वी–लक्ष्मी राई मेमोरियल ट्रष्ट धरानको आयोजनामा भदौ ६ र ७ गते खुला ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । आइतबार पत्रकार सम्मेलन गर्दै पृथ्वी–लक्ष्मी राई खुला ब्याडमिन्टन प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।
यसअघि धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीबीच प्रतियोगिताको आयोजना हुँदै आएको थियो । यस वर्षदेखि धरानमा ब्याडमिन्टन खेलको पनि प्रबद्र्धनका लागि प्रतियोगिता गर्न लागिएको ट्रष्टका उपाध्यक्ष किशोर राईले बताए । धरान–१३ स्थित अमर सेवा समाज बहुउद्देश्यीय भवनमा हुने प्रतियोगितामा तीन ओटा इभेन्टमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
सुनसरी ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता सिनियर डबल्स, राइजिङ डबल्स र भेट्रान डबल्स (५० वर्ष माथि) को प्रतिष्पर्धा हुने भएको छ । प्राविधिक सल्लाहकार प्रतीक श्रेष्ठका अनुसार प्रत्येक इभेन्ट्समा ८ जनाको समूह रहनेछ ।
प्रतियोगिताको सिनियर डबल्समा पहिलो र दोस्रो हुनेले नगद २५ हजार र १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक इभेन्ट्समा तेस्रो पुरस्कार २ ओटा रहेको बताइएको छ । तेस्रो हुनेले ८–८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
यसैगरी, राइजिङ डबल्सका पहिलो र दोस्रोले नगद १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी, तेस्रो हुनेले ३–३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
भेट्रानतर्फ पहिलो र दोस्रोले नगद १२ हजार र ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले ३–३ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।
यस्तै, प्रत्येक इभेन्ट्समा बेस्ट प्लेयर घोषित गर्दै सिनियर डबल्सलाई नगद २ हजार ५ सय, राइजिङ डबल्सलाई नगद १ हजार ५ सय रुपैयाँ र भेट्रानलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।