बिर्तामोडः झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । जायोन स्पोर्टस क्लब बिर्तामोडको आयोजनामा असोज ११ देखि १८ गतेसम्म गोल्डकप आयोजना हुने भएको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगितामा २ विदेशीसहित ८ ओटा टिमको सहभागिता रहने आयोजक क्लबले मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालका ए डिभिजनका ४ क्लबले प्रतियोगितामा सहभागिता जनाउने झापा जिल्ला फुटबल सङ्घका महासचिव शेरबहादुर बस्नेतले बताए । क्लबले फुटबलका राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई प्रतियोगिताको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

प्रतियोगितामा विजेता टिमलाई १२ लाख ५० हजार रुपैयाँ र उपविजेतालाई ६ लाख २५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए ।

उनले प्रतियोगितामा प्रत्येक दिन ‘म्यान अफ द म्याच’ र फाइनलमा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान, सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद पुरस्कार र उत्कृष्ट खेलाडीलाई विशेष उपहार प्रदान गरिने बताए । प्रतियोगिताका लागि अनुमानित ८० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।