ताप्लेजुङः ताप्लेजुङमा बिहीबार शुरु पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको बिहीबार भएको पहिलो खेलमा रेडहर्ष क्लब इलाम विजयी भएको छ । पोमु केछाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै इलाम विजयी भएको हो । इलामले खेलको शुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफको ८ औँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो ।

यस्तै खेलको १७ औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार २ गोल गरे । दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । ताप्लेजुङले जीत हासिल गर्ने लक्षका साथ ३ जना विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो । आइभेरी कोष्टका याओ कोवासी, सायरा डाई र एलेक्स इक्वेल इलामको तर्फबाट खेलाडी रहेका थिए । इलामले पनि २ जना विदेशी खेलाडीलाई समावेश गरेको थियो । खेलको म्यान अफ दि म्याच रेडहर्ष इलामका जर्सी नम्बर ७ का फोफोना घोषित भएका छन् ।

शुक्रबार ताप्लेजुङ ११ (आयोजक) र बेलबारी फुटबल क्लब मोरङबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ ।