ताप्लेजुङः मोरङको डाँगीहाट क्बल ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाटले सेमीफाइनलमा आफ्नो स्थान बनाएको हो ।

खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमीफाइनल प्रवेशका लागि पर्याप्त बन्यो । आइतबारको खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित भए । उनले नगद ५ हजार पाए ।

आज हुने खेलमा भने एलेभेन एरोज सुनसरी र यु.के.एफ.सि दार्जिलिङ भारतबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणका खेल मङ्गलबार सकिनेछन् ।

ताप्लेजुङ सदरमुकामस्थित भानुजन माविको खेलमैदानमा जारी प्रतियोगिता भदौ ६ गते सकिने छ ।