ताप्लेजुङः सुनसरीको एलेभेन एरोज फुटबल क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा भारतको युकेएफसी दार्जिलिङलाई २–० गोल अन्तरले पराजित गर्दै दुहबी सेमीफाइनलमा पुगेको हो । अब उसले रेडहर्ष क्लब इलामसँग सेमीफाइनल खेल्नेछ ।

दुवै गोल खेलको दोस्रो हाफमा यानिक ओनाले सुनसरीका लागि गोल गरेका थिए । यानिक ओना क्यामरुनका खेलाडी हुन् । थ्री स्टारका २, मनाङ मस्र्याङ्दी, एनआरटी र सरस्वतीका १÷१ जना खेलाडीले समेत सुनसरीबाट खेलेका थिए ।

यता, पराजित टिमका म्यानेजर अर्विन क्षेत्रीले आफ्नो टिममा केही सानो उमेर र नयाँ खेलाडी समावेश भएकाले समस्या भएको प्रतिक्रिया दिएका छन् । क्षेत्रीका अनुसार भारतमा नै चलिरहेको सिमलबाडी गोल्डकपमा समेत टिमबाट आधा खेलाडी बाँडिएकाले केही नयाँ र साना उमेरका खेलाडी समावेश भएका थिए । पराजित बने पनि आफ्ना खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति आफू सन्तुष्ट बनेको उनको भनाइ छ ।

खेलमा सुनसरीका रुपेश केसी म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । मङ्गलबार हुने पहिलो चरणको अन्तिम खेलमा दिउँसो २ बजे रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमकबीच प्रतिस्पर्धा हुने छ । यस अघि रेडहर्ष इलाम र डाँगीहाट मोरङ पनि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजारसहित ट्रफी पाउनेछन् । उपविजेताले १ लाख ५१ हजार नगद सहित ट्रफी पाउनेछन् ।