लेटाङः प्राचीन समयमा निकै रुचाइएको डोरी तान खेल लोप हुँदै गइरहेको अवस्थामा सो खेलको प्रबद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिने टग अफ वार सङ्घ लेटाङले जनाएको छ ।

लेटाङ नगरका निजी तथा सामुदायिक गरी १६ ओटा विद्यालय सहभागी हुने बताइएको छ । आयोजकका अनुसार प्रतियोगितामा पहिलो पुरस्कार नगद २० हजार रुपैयाँ र दोस्रो पुरस्कार नगद ८ हजार रुपैयाँ राखिएको आयोजक सङ्घका अध्यक्ष सबिन रेग्मीले बताए । साथै विजेतालाई मेडल र ट्रफीको साथमा पहिलो हुने टिमका खेलाडीलाई निशुल्क कम्प्युटर कोर्स पनि प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता शुक्रबार लेटाङस्थित शान्ति भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा दिनको १२ बजेदेखि हुने आयोजकले बताएको छ । आगामी वर्षमा समेत प्रतियोगितालाई निरन्तरता दिइने उपाध्यक्ष राजु गौतमको भनाइ छ ।

सो खेल १६ विद्यालयका शिक्षक र विद्यार्थीबीच नक आउट पद्धतिमार्फत् खेलाइने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको हो । प्रतियोगिताको पुरस्कारको प्रायोजन नवोदय युएन कलेज धरानले गरेको छ । लेटाङ नगरपालिकाको विशेष सहयोग प्रतियोगिता हुने आयोजकको भनाइ छ ।