बेलबारीः भदौ २३ गतेदेखि मोरङको लक्ष्मी खेलमैदान लक्ष्मीमार्गमा आयोजना हुने बुद्ध एयर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
अस्थायी प्यारफिट निर्माण तथा खेल मैदानलाई व्यवस्थित बनाउने काम सकिएको आयोजकले जनाएको छ । खेल मैदानमा दर्शकका लागि दायाँबायाँ बाँसको प्याराफिट निर्माण गरिसकिएको छ । खेलमैदानको सरसफाइ तथा गेट निर्माण, घेराबारा र स्टेज सजावटको काम सकिएकोे आयोजक लक्ष्मी युथ क्लबका अध्यक्ष विक्रम साम्पाङ राईले बताए ।
४ तहको प्याराफिट निर्माण गरिएको राईले बताए । उनले भने, ‘यसपटक बनाइएको प्याराफिटमा ३ हजार दर्शकले हेर्न सक्छन् । ३० हजार दर्शकले प्रतियोगितामा खेल हेर्ने आयोजकको अनुमान छ ।
प्रतियोगितामा विभिन्न क्लबमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीले सहभागिता जनाउने छन् । अध्यक्ष राईका अनुसार प्रतियोगितामा आयोजकका साथै उर्लाबारीको मोरङ फुटबल एकेडेमी, इलाम ११, बिर्तामोड क्लब, युनाइटेड क्लब झापा, धनकुटा र उदयपुर ११ तथा चर्च ब्वाइज सहभागी हुने छन् । युनाइटेड खर्साङ भारत पनि सहभागी हुने आयोजकले जनाएको छ ।
यस वर्ष पुरस्कार राशि पनि दोब्बर बनाइएको आयोजकले जनाएको छ । पहिलो हुने टिमले २ लाख २२ हजार र दोस्रो हुने टिमले १ लाख २ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । उदीयमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । आयोजकले प्रतियोगितामा २८ लाख ४५ हजार रुपैयाँ आम्दानी र २५ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको बताइएको छ ।