ताप्लेजुङः ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७, खेवाङमा असोज १५ गतेदेखि खेवाङ गोल्डकप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बडा दशैँ तथा तिहारको अवसरमा असोज १५ देखि १९ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

ग्रामीण क्षेत्रलाई खेलकुदका गतिविधिमा अघि बढाउँदै खेलकुदकै माध्यमबाट आफ्नो क्षेत्रको पर्यटन प्रबद्र्धनमा सघाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्था खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष बिनम माबोले बताए । खेवाङमा हरेक वर्षको दशैं, तिहारका समयमा खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

यो वर्ष हुने प्रतियोगितामा झापा, पाँचथर लगायतका गरी १६ टिमको सहभागिता हुने छ । खेवाङस्थित गणेश माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा सरकारका उच्च पदस्थ व्यक्तित्वलाई समेत ल्याउने तयारी भएको जनाइएको छ ।