बेलबारीः मोरङको बेलबारीमा असोज ४ गतेदेखि हुने तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पुरस्कार राशी अघिल्लो वर्ष भन्दा दोब्बर बनाइएको छ ।

असोज ४ देखि ११ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले ५ लाख पाउने आयोजक डाँगीहाट युथ क्लबले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।

गत वर्ष सम्पन्न दोस्रो संस्करणमा विजेता टिमलाई २ लाख २२ हजार र दोस्रो हुने टिमलाई १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित मैदानमा हुने प्रतियोगितामा ८ ओटा टिमले सहभागिता जनाउने भएका छन् । फुटबलको विकास र राष्ट्रका गहनाका रूपमा चिनिने खेलाडी उत्पादनका लागि स्थानीय स्तरमै सहयोग जुटाउँदै प्रतियोगिताको तयारीलाई तीव्र पारिएको उनको भनाइ छ ।

प्रतियोगितामा विभिन्न टिममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र ‘ए’ डिभिजन टिमले सहभागिता जनाउने राईले जानकारी दिए । झापा–११, नेपाल पुलिस क्लब, एपीएफ काठमाडौं, रोयल क्लब भारत, रुपन्देही–११, आयोजक मोरङ, सुनसरी–११ र मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । मोरङ फुटबल एकेडेमी उर्लाबारी गत वर्षको विजेता टिम हो । पहिलो वर्ष झापाले उपाधि जितेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापन तथा दर्शकको सुरक्षा र उपस्थितिलाई मध्यनजर गर्दै प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । खेल सफल पार्न विभिन्न उपसमिति गठन गरिएका छन् । विक्रम वान्तवा राईको अध्यक्षतामा बनेको मूल आयोजक समितिको खेल संयोजकमा अजित अधिकारी छन् । राजेश बस्नेतको संयोजकत्वमा आर्थिक उपसमिति, हिमांशु रायको संयोजकत्वमा लेखा समिति, शिव काफ्लेको संयोजकत्वमा अतिथि सत्कार, भाईकुमार गुरुङको संयोजकत्वमा विदेश विभाग, शम्भु बस्नेतको संयोजकत्वमा खाजा नास्ता व्यवस्थापन, सुधीर वान्तवाको संयोजकत्वमा प्रचारप्रसार, तारामणि राईको संयोजकत्वमा खेल मैदान व्यवस्थापन, नरेन्द्र बस्नेतको संयोजकत्वमा मिडिया व्यवस्थापन तथा सञ्चार, वसन्ती सुनुवारको संयोजकत्वमा महिला स्वयंसेवक उपसमिति बनाइएको छ ।

प्रतियोगितामा म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, विङ्स, फरवार्ड, गोलरक्षक, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

यस वर्ष ३३ लाख आम्दानी र ३१ लाख चार हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । गत वर्ष प्रतियोगिताबाट १ लाख ५ हजार रुपैयाँ नाफा भएको थियो । यस प्रतियोगिताले बेलबारीको थप शोभा बढाउने ११ नम्बरका वडा अध्यक्ष यमबहादुर पोख्रेल (राजन)ले बताए ।

gold cup  (1)