धरानः धरानमा शुरु भएको प्रथम टुबोर्ग अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गार्डेन फुटबल क्लब धरानले डाँडाबजार फुटबल क्लब धनकुटालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

गार्डेनका लागि मिलन लिम्बू र दोर्जे तामाङले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच गार्डेनका मिलन लिम्बू घोषित हुँदै नगद १ हजारसहित ट्रफी प्राप्त गरे । मङ्गलबार बिग फुटबल टिम धरान र फेयर फुटबल क्लब धरानबीच खेल हुने आयोजक सिर्जनशील युथ क्लबका उपाध्यक्ष सुवास केसीले जनाए ।

प्रतियोगिता असोज ४ गतेसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले धरानमा खेलकुदको विभिन्न प्रतियोगिता निरन्तर भएकोमा खुशी व्यक्त गरेकी थिइन् । उद्घाटन कार्यक्रममा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई, सुनसरी टेक्निकल कलेजका लेखीराज सुब्बा लगायतको उपस्थिति रहेको थियो ।