इटहरीः योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजबाट इटहरीमा शुरु हुने भएको छ ।

राष्ट्रिय ब्याडमिन्टन सङ्घ नेपालको आयोजना तथा सुनसरी ब्याडमिन्टन एकेडेमी इटहरीको सहआयोजनामा प्रतयोगिता सञ्चालन हुने सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

इटहरी रङ्गशालामा रहेको नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न ब्याडमिन्टन कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा २ सय जनाले बेग्लाबेग्लै समूहअन्तर्गत प्रतिष्पर्धा गर्ने सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिए । प्रतियोगितामा पुरुष सिङ्गल र डबल, महिला सिङ्गल र डबल, यु १७ युवा सिङ्गल, यु १७ महिला सिङ्गल र भेट्रान टिम विभाजन गरी प्रतिष्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले बताए ।

इटहरी रङ्गशालामा निर्माण सम्पन्न भएको ब्याडमिन्टन कभर्ड हलको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईबाट सोही दिन उद्घाटन हुने बताइएको छ ।