धरानः धरानमा भइरहेको प्रथम टुबोर्ग अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा सञ्जीवनी केन्द्र विजयी भएको छ ।

सञ्जीवनी केन्द्रले आयोजक सिर्जनशील युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि सञ्जीवनीले टाइब्रेकरमा जीत हासिल गरेको थियो ।

सञ्जीवनीका लागि प्रविन बिक र सुजल बिकले गोल गरेका थिए भने सिर्जनशीलका तर्फबाट सुरज खकुरेलले दुवै गोल गरेका थिए ।

टाइब्रेकरमा सिर्जनशीलका लागि महेन्द्र राउत र प्रविन भुजेलले गोल गरे भने सुरज खकुरेल र अजय राजधामीले गोल गर्न सकेनन् । त्यस्तै, सञ्जीवनीका लागि प्रविन विक, सुसन बराइली, खुशीमान लिम्बू र आयुष कार्कीले गोल गरे । खेलको म्यान अफ द म्याच सञ्जीवनीका गोलकिपर खुशीमान लिम्बू घोषित भए । बिहीबारको खेल आयोजक नीलो र फनडे फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।