धरानः प्रदेश नम्बर १ स्तरीय प्रथम एन्फा एकेडेमी कप अण्डर १४ फुटबल प्रतियोगिता धरानमा हुने भएको छ ।

धरान–१७ स्थित एन्फा एकेडेमीको आयोजनामा भदौ २७ गतेदेखि असोज ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी आयोजकले गराएको छ । एन्फा एकेडेमीले प्रशिक्षण गराइरहेका १० ओटा क्लबले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा १४ वर्ष मुनिका फुटबल खेलाडीको सहभागिता रहने भएको छ । प्रतियोगिताले एकेडेमीमा भएका खेलाडीको प्रतिभामा निखार आउने एकेडेमी सञ्चालक समिति अध्यक्ष किशोर राईले बताए ।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटाका १० ओटा समूहबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा एन्फा एकेडेमी धरान, धरान फुटबल क्लब एकेडेमी, महेन्द्र फुटबल एकेडेमी दुहबी, राष्ट्रिय जागृति क्लब फुटबल एकेडेमी इटहरी र न्यु स्टार फुटबल एकेडेमी भरौल सहभागी हुने भएका छन् ।

त्यस्तै, विराटनगर फुटबल एकेडेमी र एम्ब्रिय क्लब एकेडेमी, मेची नेत्रालय झापा, उदयपुर जिल्ला फुटबल टिम उदयपुर र श्री मार्गादेवी युवा क्लब धनकुटा गरी जम्मा १० टिम सहभागी हुने भएका हुन् ।

प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार, दोस्रो हुने टिमलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । व्यक्तिगत पुरस्कार अन्तर्गत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही ३ हजार र उत्कृष्ट कोचलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै ९ खेलको म्यान अफ द म्यचलाई जम्मा १० हजार नगद प्रदान गरिनेछ । कुल ७ लाख ७३ हजार ३ सय रुपैयाँको लागतमा सम्पन्न हुने प्रतियोगिताको सञ्चालनका लागि प्रदेश सरकार, एन्फा, विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका तथा दुहबी, लेटाङ, इनरुवा, रामधुनी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएका छन् ।

प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जागृति क्लब फुटबल एकेडमी इटहरी र एन्फा एकेडेमी धरानबीच आज दिउँसो ३ बजे हुनेछ ।